गजल
अलिकति पीर परे भित्र भित्रै सताउँछ।
बिचित्रको यन्त्र मन हसाएर फसाउँछ।।१
रंगि-चंगी इन्द्रेणिमा लुकामारी खेल्छ अनि।
मयूरको ताल संग नौला सूर सजाउँछ।।२
बेप्रवाह उडी दिन्छ पक्षी सरि जथाभावी।
मनले नै मान्छेलाई नाना भाँती गराउँछ।।३
खाटो बनी सकेपनि ब्यथाहरू कोट्याएर।
सम्झाएर त्यही घाउ मनले नै बल्झाउँछ।।४
आफै बोक्सी आफै धामी भयो हाम्रो जिन्दगानी।
मनै रून्छ अनि फेरि आफैंलाई फकाउँछ ।।५
संसारको कुना कुना उडाउँदै भुलाउँदै।
भावनाको उडानमा पलमा नै डुलाउँछ।।६
मनलाई नबुझेर मानिसले दुख खेप्छ।
बुझ्न सके यसलाइ सधैं राम्रो खटाउँछ।।७
गोबिन्द फुयाल, अमेरिका।
३/१९/१५
No comments
Post a Comment
कृपया प्रतिकृया लेख्दा अपशब्द प्रयोग नगर्नुहोला!