गजल


धुप हालेँ बाती बालेँ तिम्रो सम्झनामा।
सारा जुनी यसै फालेँ तिम्रो सम्झनामा।।१

समयले रंग फेर्ला भन्ने आकांक्षामा।
बारम्बार मन टालेँ तिम्रो सम्झनामा।।२

भिर हुन्छ जसै बाटो यात्रा बिच मेरो।
घुँडा टेक्दै पाउ चालेँ तिम्रो सम्झनामा।।३

हिक्काहरू लुकाएर ठाडै सुकाउँने।
मैले यस्तै रोग पालेँ तिम्रो सम्झनामा।।४

पागल छ गोबिन्द लौ भन्न थाले सबै।
पागल झैं बन्ने थालेँ तिम्रो सम्झनामा।।५

गोबिन्द फुयाल, अमेरिका। 
०८/०१/२०१६

No comments

Post a Comment

कृपया प्रतिकृया लेख्दा अपशब्द प्रयोग नगर्नुहोला!

Powered by Blogger.